Tuesday, August 31, 2010

कर्णालीमा मरेकी साथी काठमाडौंमा जन्मिन्

यो साता एउटा संयोग भएको छ । कर्णालीमा राफ्टिङ गर्दा डुङ्गा पल्टिएर मरेकी श्लेष्मा क्षेत्रीकी साथी मालश्री उनको शोक गद्यसाहित्यको कृतिको रुपमा काठमाडौंमा जन्मन पुगेकी छिन् ।
यो कृति उनले आफ्नी प्यारी साथी मालश्री (डा. ऋषिकुमार काफ्लेकी छोरी) को असामयिक निधन भएको शोकमा डुबेर तयार गरेकी छिन् । यस कृतिमा चौधवटा सस्मरणात्मक लेखहरु रहेका छन् । ती सबैमा आ-आफ्नै खालका फरक-फरक स्वादहरु रहेका छन् ।
यस अघि मेरी हजुरआमा सम्झनाका कथाहरु लेखेर यात्रा र संस्मरणका क्षेत्रमा राम्रो प्रतिभा प्रस्तुत गरिसकेकी श्लेष्माको यो कृति पनि सुन्दर शैलीमा लेखिएको छ । यसै साता काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरिङमा आयोजित एक समारोहबीच बालसाहित्य प्रतिष्ठान नेपालका संरक्षक प्रा. डा. अच्युतमणि आचार्यले उनको कृति विमोचन गर्नुभएको थियो ।
श्लेष्माले यस कृतिमा साथी मालश्रीलाई आफूले सानो कक्षामा भेटेको बेलादेखि उनीसँग १२ कक्षासम्म पढ्दा बिताएका पलहरुको मार्मिक सम्झना लेखेकी छिन् ।
विमोचन समारोहमा श्लेष्माका पिता प्रवीन प्रकाश क्षेत्री, मालश्रीका पिता डा. ऋषिकुमार काफ्ले, उपप्राध्यापक महेश पौड्याल प्रारम्भ, प्रभा भट्टराई र प्रमोद प्रधान र कार्तिकेयले कृतिका वारेमा बोल्नुभएको थियो । हजुरमा रीता क्षेत्रीको सभापतित्वमा समारोह सम्पन्न भएको थियो । यस कृतिकी लेखिका श्लेष्मा अहिले अमेरिकास्थित बेट्स कलेजमा स्नातक पढिरहेकी छिन् । उनले वि.सं. २०६० मा राष्ट्रिय बालप्रतिभा, कविताराम बालप्रतिभा र कार्तिकेय बालप्रतिभा पुरस्कार पाएकी थिइन् ।

No comments:

Post a Comment