Thursday, November 27, 2014

कोरियाली साहित्यकारको जीवन कथा

प्राध्यापक डाक्टर युजङ्गयी कोरियाली बालसाहित्यकार हुन् । उनी हङ्गीक विश्वविद्यालयमा कोरियन साहित्य पढाउँछिन् । उनले आधुनिक कोरियाली कविता भन्ने विषयमा विद्यावारिधी गरेकी छिन् ।
चालीस दिने नेपाल भ्रमणका लागि जङ्गयी नेपाल आएकी थिइन् । त्यो भ्रमणमा उनीसँगै १३ जना कोरियाली बालबालिकाहरु पनि आएका थिए ।
यस अंकमा हामीले प्रसिद्व कोरियाली कवि, समालोचक र बालसाहित्यकार जङ्गयीसँग उनको जीवनका कथाव्यथावारे कुराकानी गरेका छौं । उनी आफ्नो जीवनकथा सुनाउँदै भन्छिन् 
म एउटा साधारण परिवारमा जन्मिएकी हुँ । मेरो बुवा व्यापार गर्नुहुन्थ्यो । मेरो घरमा हामीलाई खान, बस्न र पढ्न पनि गाह्रो अवस्था थियो ।
म सानै देखि पुस्तक पढ्न खूब रुचि राख्थें । म सानो छँदा विदेशी लेखकका किताबहरु बेच्दै घर–घरमा हकरहरु घुम्दथे । उनीहरु थरीथरीका किताबहरु बेच्दै हिड्थे । एक सेट किताबमा दशथरी कथाका किताबहरु हुन्थे । ती किताब पढ्न मलाई एकदमै मन लाग्थ्यो । तर मेरो बुवाआमाले किन्दिन सक्नु हुन्नथ्यो । मसँगै भाइबहिनीलाई पनि पढाउँनु पर्ने भएकोले घरको सबै पैसा हाम्रो विद्यालयको किताब किन्दा नै सकिन्थ्यो । त्यसैले म सँधै घर बाहिर उभिएर ती घुमाउँदै किताब बेच्न हिडेका हकरहरुले बोकेका कथाका किताबहरु लोभिदै हेर्थें । म पढ्न नपाएकोमा थकथक मान्थें ।
  एकदिनको कुरा हो, मैले मेरो छिमेकीको घरमा थुप्रै कथाका किताबहरु दराजमा सजाएर राखेको देखें । त्यसपछि म दङ्ग पर्दै छिमेकीको घरमा गएर किताब पढ्ने कुरा सोच्न थालें । नभन्दै मैले त्यो मौका पाएँ । एक दुई दिन मैले त्यो छिमेकीको घरमा गएर ती किताबहरु मज्जाले पढें । शुरुको दिन त म किताब पढ्न पाएकोमा यति धेरै रमाएँ कि मैले त धेरै खुसी भएर रुँदै–रुँदै किताबहरु पढें । म आफ्नो जिन्दगीमा त्यो दिनलाई कहिले बिर्सिन सक्दिन ।
हुन त मेरा छिमेकीका पनि छोराछोरीहरु थिए । तर उनीहरु घरमा भएको त्यति राम्रा किताबको वास्ता गर्दैनथे । उनीहरुलाई त कथाको किताब पढ्न मन नै लाग्दोरहेनछ । त्यतिबेला म सोच्थें कस्तो बोर जसलाई किताब पढ्न मन छैन ऊसँग चै यति धेरै किताब । मलाई पढ्न मनलाग्छ तर मसँग किताब नै छैन । यो सम्झदाँ मलाई रुन मन लाग्थ्यो ।
यसरी मैले रमाउँदै दुईतीन दिन छिमेकीकोमा गएर किताब पढें । तर त्यसपछि मैले त्यहाँ गएर किताब पढेको उनीहरुले मनपराउँन छाडे । त्यसपछि म त्यो छिमेकीकोमा किताब पढ्न जान छाडें । आमालाई कर गरेर छिमेकीको घरमा किताब लिन पठाउँन थालें । यसरी दुई दिनसम्म आमाले मलाई त्यहाँबाट किताब ल्याइदिनु भयो । तर एकदिन आमालाई पनि वचन लगाएछन् । त्यसपछि आमाले रिसाउँदै ती छिमेकीको सेखी झार्न मलाई एक सेट दशवटा कथाका किताबहरु ल्याइदिनु भयो । ओहो, त्यो दिन त म धेरै खुसी भएकी थिएँ । आफ्नो कथाका किताबलाई किस गरेर, अंगालो मारेर मैले रमाइ–रमाइ पढें । हो, मैले मेरो आफ्नो किताब आफैले रुँदै, कराउँदै, हाँस्दै र हल्ला गर्दै पढेको त्यो दिन मेरो जिन्दगीको कहिल्यै नबिर्सने दिन हो ।
हो, म किताबको कीरा नै थिएँ । म निक्कै धेरै किताब पढ्थें । म किताब पढ्दापढ्दै खाना खान नै बिर्सिन्थें । आमाले मलाई छोरी तिमीले खाना खाएकी छैनौ भनेर दुई तीन पटक सम्झाउँनु पर्दथ्यो ।
यसरी धेरै किताब पढ्ने बानीले गर्दा होला अहिले म लेखक बन्न सकें । अहिले पनि म धेरै किताब पढ्ने गर्छु । मैले क्याम्पसमा विद्यार्थीहरुलाई पढाउन पनि धेरै किताब पढ्नुपर्छ । त्यो बाहेक मलाई नयाँ–नयाँ उपन्यास, कथा र कविताहरु लेख्न पनि त मैले धेरै किताब पढ्नुपर्छ नि ! मेरा बालसाहित्यमा दशवटा किताबहरु छापिएका छन् । ती सबै किताबले पुरस्कारहरु पनि जितेका छन् । यो पनि म धेरै पढ्ने मान्छे लेखक भएर हो भन्नुहुन्छ मेरा गुरुहरु ।
म समालोचक पनि हुँ । मेरा समालोचनासम्वन्धी पाँचवटा किताबहरु छापिएका छन् । अरुका किताबहरु पढेर ती किताबको राम्रा पक्ष र नराम्रा पक्षका वारेमा लेख्नु मेरो काम हो । त्यही कामलाई समालोचना भनिन्छ । त्यसैले समालोचना गर्न पनि म धेरै किताबहरु पढ्ने गर्छु ।
यसरी आफूलाई सफल मान्छे बनाउँन म धेरै थरी किताबहरु पढिरहेकी छु । मलाई लाग्छ, हरेक मान्छेले किताब पढ्नुपर्छ । राम्रा ज्ञानगुनका किताब पढ्ने मान्छेहरु जीवनमा सँधै सुखी र सफल हुन                       सक्छन् ।                  

No comments:

Post a Comment