Sunday, July 21, 2019

नेपाली बालसाहित्यमा साँच्चिकै परिवर्तन ल्याउने हो भने के गर्नुपर्छ ? - कार्तिकेय

हामीले नेपाली बालसाहित्यलाई पुस्तक बजारको मूल प्रवाहमा छिराउन सक्नुपर्छ अनि मात्र हरेक विद्यालयका पुस्तकालयमा नेपाली बालसाहित्यका सेलेक्टेड पुस्तकहरुको छुट्टै ठूलो र्याक बस्छ । अनि नेपाली बालसाहित्यलाई संस्थागत रुपमै खरिद गरिने वातावरण सिर्जना हुनसक्छ । त्यसका लागि हामीले यी कुरा गर्न सक्नुपर्छ :
१. नेपाली बालसाहित्यका १०० उत्कृष्ट बालकृतिहरुको सूची सार्वजनिक गर्ने । यो कार्यका लागि बालसाहित्यको प्रवद्र्धनमा लागेका सामाजिक संस्थाहरुको एउटा अलाइन्स बनाउने, त्यो अलाइन्सले मुलुकका प्रतिष्ठित विश्वविद्यालयबाट एकएक जना विशेषज्ञ, संस्थागत प्रतिनिधि विशेषज्ञ, मनोविद् आदिको एउटा बोर्ड बनाउने र त्यो बोर्डले के कस्ता गुण भएका किताब उत्कृष्ट बालकृति हुने भन्ने एउटा मापनको खाका तयार गर्ने र त्यसलाई बृहत् छलफल गरी बुक छनोटको मापदण्डको रुपमा सार्वजनिक गरिदिने । त्यसपछि त्यही आधारमा विस्तृत अध्ययन गरी ३ वर्षभित्र नेपाली बालसाहित्यका १०० उत्कृष्ट बालकृतिहरुको सूची सार्वजनिक गर्ने ।
२. त्यसपछि त्यही आधारमा वर्षका २५ (उमेर समूह अनुसार गर्नुपर्ने भएकाले २५ गरिएको) उत्कृष्ट बालसाहित्य लेखक र पुस्तकहरुको सूची सार्वजनिक गर्ने परम्परा सुरु गर्ने । 
३. त्यसपछि उत्कृष्ट १०० मा छानिएका किताबहरुको नयाँ साजसज्जा संस्करण प्रकाशन गर्न सुरु गर्ने । ती सबै किताब बजारमा सहजै उपलब्ध हुने वातावरण बनाउने । साथै, १०० मा छानिएका मध्ये धेरेै भन्दा धेरै किताबको मोटो गाता संस्करण पनि प्रकाशन गर्ने ताकि विदेशी किताबमा रमाउने विद्यालय र पुस्ताको पनि उक्त कृतिहरुमा ध्यान आकृष्ट होस् ।
४. त्यसपछि यस्तो दिन ल्याउन प्रमोसन गर्न सुरु गर्ने कि नेपाली बालसाहित्यका १०० किताब हाम्रो पुस्तकालयको पुस्तकालयमा छ भन्दा विद्यालय टिमलाई गौरव महसुस होस् । उत्कृष्ट २५ किताब पनि त्यसरी नै विद्यालयसम्म पुग्ने वातावरण बन्दै जानेछ । र, त्यसपछि मात्र नेपाली बालसाहित्यका ती सूचीमा नपरेका किताबहरुको मूल्य स्वतः कम हुनेछ र सूचीमा परेकाहरुले पनि मितव्ययी मूल्य राख्न स्वतः प्रोत्साहित हुनेछन् किनकि उनीहरुको बिक्रीको संख्या बढी हुने भएकाले छपाइको मूल्य त कम हुँदै गएको अवस्था हुनेछ ।
५. आगामी ५ वर्षभित्र यति गरिसकेपछि त्यही अलाइन्सले सबैसँग सहयोग जुटाएर १ करोडको अक्षयकोष बनाउने र सुरुवातमा हरेक २ वर्षमा दुई उमेर समूहका २ लेखकलाई २ लाख ५० हजार राशिको उत्कृष्ट बालसाहित्य पुरस्कार प्रदान गर्ने परम्परा सुरु गर्ने । अनि बल्ल बालसाहित्य लेखन र पठन संस्कृतिका उपलब्धिपूर्ण धक्का महसुस हुनसक्छ र नेपाली बालसाहित्यको अवस्थामा साँच्चिकै परिवर्तन हुनेछ । अहिले त डलरको चमचमले नेपाली बालसाहित्य चहकिलो भएको जस्तो मात्र लागेको हो तर त्यतिबेला साँच्चै नेपाली पाठकको नेरुले नै बालसाहित्य चम्कने छ । किनकि आज रोल डाल र एनिड ब्लाइटन लगायत लेखकका सिरिजका सबै किताब किनेर घरमै पुस्तकालय बनाएर पढाउन सक्ने आर्थिक स्तर भएका पाठकसम्म पनि नेपालबाट प्रकाशित नेपाली बालसाहित्य पुग्ने दिन आउने छ ।
६. हो, पुरस्कारको हकमा छनोटमा र बुक सेलेक्सेनमा निष्पक्ष हुँदैन विदेशमा त यस्तो भनेर नि प्रतिक्रिया आउन सक्छ तर म ती मित्रहरुलाई यति मात्र भन्न चाहन्छ, भो अब विदेशको उदाहरण दिएर गौरव गर्न कम गरौं, पुरस्कार छनोटमा र बुक सेलेक्सेनमा असहमतिका स्वरहरु युरोप, अमेरिका र अन्य बालसाहित्य पढ्ने अवस्था अत्यन्त राम्रो भएका मुलुकमा पनि सुनिँदै आएका छन् । तर हाम्रो प्रयास त्यसलाई कसरी कम गर्ने भन्ने हुँदै जानुपर्छ । अर्को कुरा हामीले यस्तो उदाहरण दिन सक्ने दिन ल्याउनुपर्छ : जस्तै— फलानो प्रदेशमा बालसाहित्य बढी बिक्यो, फलानो प्रदेशमा बालबालिकाको पुस्तकालय बढी छ, फलानो प्रदेशका बच्चाहरुको पठन गति तगडा छ, फलानो प्रदेशमा किताब पढौं, पुरस्कार जितौं कार्यक्रममा १ लाख विद्यार्थीले भाग लिए, फलानो प्रदेशमा धेरै किताब पढ्नेमध्ये टप टेनलाई स्थानीय सरकारको पहलमा हरेक वर्ष छात्रवृत्ति प्रदान गरियो, यसबाट देशभरि दसौं हजार विद्यार्थीले राम्रो किताब पढ्ने बानीका कारणले निःशुल्क पढ्न पाए, आदि आदि यस्ता कुराहरु र उदाहरणले सही र सुनौलो भविष्यका लागि प्रदेशप्रदेशबीच आन्तरिक प्रतियोगिता बढाउन सके हामीले परिवर्तन महसुस गर्न र भोग्न पाउने हो ।

No comments:

Post a Comment